मेचीनगर, फागुन २० । झापाको मेचीनगर—३ मा रहेको नवज्योति आधारभूत विद्यालय बडाखालले एकजना पूर्व प्रधानाध्यापकलाई अभिनन्दन तथा अक्षयकोष स्थापना गर्ने दुई जनालाई सम्मान गरेको छ ।
विद्यालयको ४७ औँ वार्षिकोत्सवका अवसर पारेर आइतबार प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले पूर्व प्रधानाध्यापक सोमबहादुर आचार्यलाई विद्यालयका तर्फबाट अभिनन्दन गरेकी थिइन् । २०७६ साल माघ १५ गते अनिवार्य अवकाश भएका पूर्व प्रधानाध्यापक आचार्यले आफ्नो उमेरको ऊर्जाशील समय ३५ वर्षसम्म शिक्षासेवामा बिताए । विगतदेखि वर्तमानसम्म विद्यालयको चौतर्फी विकासका लागि सप्ताह महापुराण, विभिन्न साँस्कृतिक कार्यक्रमहरु समय समयमा आयोजना गरेर विद्यालयको उन्नति प्रगतिमा सक्रिय रहेको तथा पूर्व प्रधानाध्यापक आचार्यले प्रदान गरेको अभिभावकत्व अतुलनीय रहेको भन्दै उनलाई अभिनन्दन गरिएको हो ।
यसैगरी, कार्यक्रममा आचार्य शान्ति सृजना पुरस्कार अक्षय कोष स्थापना गर्ने ठाकुर आचार्य र नगद ५० हजार रुपैयाँसहित विद्यालयको शैक्षिकसहित भौतिकरुपमा विकासमा उल्लेखनीय सहयोग गरेको भन्दै कैलाश कालीकोटेलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, नगर शिक्षा शाखाका शिक्षा अधिकृत पवित्रा ढकालले दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए । उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि उप्रेतीले अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन् ।‘सामुदायिक विद्यालयलाई विद्यार्थी अभिभावकहरुको आकर्षणको केन्द्र बनाउन के के गर्नुपर्छ विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ शिक्षकलगायत सबै लाग्नुहोस् यहाँहरुको साथमा स्थानीय सरकार छ’उनले भनिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक धनकला दाहालले विद्यालयको विगत वर्तमान र आगामी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । शिक्षक धनराज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिको पहिचान र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।