झापा,फागुन २१ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शङ्कास्पद रूपमा मृत फेला परेकी शालीन पोखरेलको शव परीक्षण गर्दा झुण्डिएर मृत्यु भएको कारण खुलेको छ ।

महाराजगञ्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाउँदा झुण्डिएको कारण मृत्यु भएको पाइएको चितवन प्रहरीका प्रमुख भावेश रिमालले जानकारी दिए ।

‘रिपोर्ट आएको छ’ उनले भने‘बाहिर हल्ला आएजस्तो बलात्कारबाट हत्या गरिएको भन्ने अहिलेसम्म देखिएको छैन ।’ मृत्यु झुण्डिएकै कारण भएको भन्ने रिपोर्टमा उल्लेख छ । । घटनाको विषयमा थप अनुसन्धान जारी रहेकाले अन्य विषय पछि जानकारी गराउने प्रमुख रिमालले बताए ।

शालीनलाई बलात्कार गरेको शव परीक्षणबाट नदेखिएको रिपोर्टमा उल्लेख छ । १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट)रहेको पोष्टमार्टमबाट खुलेको छ । कक्षा ८ मा अध्ययनरत छात्रा शालीन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक नदेखिएको हो । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलका वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा प्रहरी रहेकाले पोष्टमार्टमको रिपोर्ट र अन्य विषयवस्तुसहित विस्तृत विवरण पछि जानकारी गराउने जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा, ‘मलाई सबैले माया गर्नु है’ भनेर लेखिएको छ । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालीन चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्दै आएकीे थिइन् । शालीन दुई वर्षदेखि विद्यालयको होस्टलमा बसेर पढ्दै आएकी थिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्