झापा,फागुन २१ । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।

भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ ।

माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारीे घरैसम्म आएका र सस्तो मूल्यमा कुचो बेच्न बाध्य भएको बताए । “गत वर्ष यामको सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कुचो बेचेको थिएँ, पछि रु एक सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो”, उनले भने, “यस्तै तरिका हो भने घरव्यवहार चलाउन नै मुस्किल गर्ने रहेछ ।”

मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अम्रिसोको खेतीमा लागेका किसान मारमा परेको किसान अभिषेक येक्तेनले बताए । विगतमा राम्रो मूल्य पाएपछि किसानले हौसिएर अम्रिसो खेती गरेको भए पनि अहिले निराशा छाएको उनले गुनसो गरे । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उनले भने, “मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्