झापा,फागुन २१ । केन्द्रीय सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार पनि संकटमा परेको छ ।

केन्द्रमा आजै एमाले, माओवादी, रास्वपा र जसपा मिलेर सरकारको पुनःगठन हुँदैछ । सोही गठबन्धन अनुसार प्रदेश सरकार पनि परिवर्तन हुने नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘कोशीमा अब नयाँ सरकार बन्छ । केदार कार्की नैतिक हिसावले गठबन्धनमा हुनुहुन्छ, गठबन्धन नै परिवर्तन भएपछि उनले राजीनामा दिनुपर्छ । माओवादीसहित ४७ जनाको समर्थन उहाँलाई थियो । माओवादीको सांसद संख्या घट्नेवित्तिकै उहाँ अल्पमतमा पर्नुभयो । त्यसो हुँदा उहाँले राजीनामा दिनुपर्छ । राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै अर्को सरकार बन्छ,’ भण्डारीले भने ।एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि सरकार परिवर्तन हुने बताए । ‘अब यो सरकार किन राख्नु पर्यो ?,’ कार्कीले भने, ‘माथिको परिवर्तन भएसँगै यहाँ पनि परिवर्तन हुन्छ ।’ यद्यपि प्रदेश सरकार कसको बन्ने भन्ने विषय भागबण्डा सकिएपछि मात्रै अन्य कुरा थाहा हुने उनले बताए ।

कोशी प्रदेशसभा बनेको १४ महिना बितेको छ । यो प्रदेशसभाबाट बनेको पाँचौं सरकारको मुख्यमन्त्री केदार कार्की कायम छन् । सरकार निर्माण हुने अन्तिम विकल्प रहेको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको कार्की नेतृत्वको सरकारको पनि दिनगन्ती सुरु भएको छ । उनको सरकार बनेको पनि मात्रै १४२ दिन नाघेको छ । यसबीचमा गठबन्धन दलहरु, विपक्षी दल तथा मुख्यमन्त्री कार्कीको आफ्नै दल नेपाली काँग्रेसमा उनीप्रति तीब्र असन्तुष्टि छ ।

यो प्रदेशसभाको शपथग्रहण २०७९ पुस ११ गते भएको थियो । उक्त प्रदेशसभाले संविधानको धारा १६८ (२) अनुसार पहिलो सरकार २०७९ पुस २५ गते गठन भयो ।उक्त सरकार ढलेसँगै पुनः २०८० असार २२ गते संविधानको धारा १६८ (२) अनुसार नै काँग्रेसका उद्धब थापा नेतृत्वमा सरकार गठन भयो । सर्वोच्च अदालतबाट मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधान विपरीत भएको भन्दै थापा साउन ११ गते बर्खास्तमा परे । थापा २०८० साउन १६ गते संविधानको धारा १६८ (२) अनुसार नै पुनः मुख्यमन्त्री नियुक्त भए । सर्वोच्चले थापालाई भदौ १६ गते बर्खास्त गर्यो ।
उक्त सरकार बर्खास्तमा परेसँगै संविधानको धारा १६८ (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८० भदौ २२ गते सरकार बन्यो । विश्वासको मत लिने आधार नभएपछि मुख्यमन्त्री कार्कीले असोज २० गते राजीनामा दिए ।त्यसपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भए । अहिलेसम्म कार्की नेतृत्वको सरकार बहाल छ ।

गठबन्धन दलहरुसँग विद्रोह गर्दै काँग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । उपधारा (५) अनुसार बनेको अहिलेको सरकार ढलेको अवस्थामा पनि बहुमत सांसदहरु प्रदेश प्रमुख समक्ष गएर हामी सरकार बनाउन सक्षम छौं भनेको परिस्थितिमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नसक्ने बाटो जिवितै रहने संविधानविद् भीमार्जुन आचार्यले बताए । ‘त्यस्तो परिस्थितिमा प्रदेश प्रमुखले माने भने अर्को सरकार बन्न सक्छ । उद्धब थापालाई दोस्रो पटक बर्खास्त गर्ने क्रममा अदालतले सरकार बन्ने परिस्थिति हुँदासम्म सरकार बन्न दिनुपर्छ भन्ने फैसला गरेको छ । त्यो फैसला चाहिँ उपधारा (२) को सन्दर्भमा बोलेको हो । त्यसलाई उपधारा ५ मा पनि प्रयोग हुन सक्छ जस्तो लाग्छ । विघटन गर्नुभन्दा पनि सरकार बन्नु राम्रो कुरा हो नि त,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्