बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपीएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले सोमबार भएको क्वार्टरफाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपीएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपीएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपीएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

सी डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको थियो । बाई पाएर क्वार्टरफाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरेपनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।

खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५४ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिएपनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापाजस्तो प्रतिष्ठित गोल्डकपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको थियो ।

बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपीएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपीएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।
मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्