बिर्तामोड, फागुन २१ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फ राममाया बुढाले जितेका छन् ।

५१ औं सुखानी शहीद दिवस पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको संगमस्थल सुखानी शहिद पार्कसम्मको १० किलोमिटर दुरीको दौडमा यादव र बुढाले उपाधि जितेका हुन् । दुवै विजेताले जनही ५१ हजार हजार रुपैँया नगद , मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलिसेकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बने भने महिलातर्फकी बिजेता बुढाले ५९ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् ।

यसैगरी पुरुषतर्फ सन्दिप बस्नेत द्वितीय बनेका छन् । उनी ५३ मिनेट ४ सेकेण्ड ८ मिलिसेकेण्डमा तोकिएको दुरी पार गर्न सफल भए । महिलातर्फ पुष्पा भण्डारीले १ घण्टा ३ मिनेट ९ सेकेण्डमा दुरी पार गरेर द्वितीय स्थान हासिल गरिन् । दुवै जनाले जनही ३१ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी पवन कार्कीले ५४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै पुरुषतर्फको तृतीय स्थान हासिल गर्दा महिलातर्फ फूलमती रानाले १ घण्टा ३ मिनेट ४ सेकेण्डमा सो दुरी पार गर्दै तृतीय भइन् । दुवै जनाले जनही नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दुवैतर्फका उत्कृष्ट १० धावकलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मुल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिए । प्रतियोगितामा देशभरबाट ४ सय ४८ जना सहभागी भएका थिए ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सुखानी दिवसका अवसरमा पाँच जना शहीदहरुले शहादत प्राप्त गरेको ऐतिहासिक ठाउँ सुखानी पार्कमा प्रतियोगिता समापन गरिएको नेपाल खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्