झापा,फागुन २३ । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भनिने ज्ञानमती थुलुङ राईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । राईको हत्या आरोपमा मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई मोरङ प्रहरीले मंगलबार सार्वजानिक गरेको छ । राईको परिवारले विवाह नगरिदिने भएपछि आफ्नै पे्रमीले धारिलो हतियार प्रयोग गरी निर्मम तरिकाले हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ज्ञानमतीको हत्या भएको चार घण्टा बित्न नपाउँदै आरोपीलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले बताए । हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट सोमबार राति साढें २ बजे पक्राउ गरेको उनले बताए ।

चौधरी र राई एक वर्षभन्दा बढी समयदेखि प्रेममा रहेको प्रहरीले बताएको छ । किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । चौधरी विवाहित हुन् । उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमार्फत किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । ‘उनीहरू प्रेम सम्बन्धमा रहेपछि केही महिना अगाडि घरबाट भागेको पनि प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ जाने क्रममा विराटनगरको सीमा नाका रानीबाट मानव बेचबिखन विरुद्ध काम गर्ने गैरसरकारी संस्थाले किशोरीको उद्धार गरी परिवारलाई बुझाएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि पनि उनीहरुबीच सामाजिक संजालमा कुराकानी हुने गरेको देखिएको छ,’ एसपी कार्कीले भने, ‘किशोरीका परिवारले चौधरीलाई फोन नगर्न र नजिक नहुन पनि पटक पटक भन्दै आएका थिए ।’ किशोरी आफ्नो नभए अरुको पनि हुन नदिने भन्दै चौधरीले हत्या गरेको अनुसन्धान अधिकृत बताउँछन् ।

पक्राउ परेका चौधरीको १४ वर्षका छोरा रहेको खुलेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमती थुलुङ राईको सोमबार राति १० बजेर १० मिनेटमा निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतीका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् । २ वर्षअघि पहाडबाट झरेकी उनले नास्ता पसलमा दाजुलाई सहयोग गर्दै पढाइलाई निरन्तरता दिँदै आएकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको प्रहरीले जानकारी दियो ।

पक्राउ परेका अभियुक्तलाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्