झापा,फागुन २३ । सरकारले विद्युत महशुल बढाउन खोजेको समाचार सार्वजनिक भएपछि उद्योग संगठन मोरङले तत्काल विद्युत महशुल नबढाउन आग्रह गरेको छ ।विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको भनि सार्वजनिक भएका समाचारहरुप्रति ध्यानाकर्षण भएको भन्दै संगठनले महशुल बढाउनुको साटो गुणस्तर सुधार गर्न र नियमित विद्युत आपूर्ति गर्ने तर्फ ध्यान दिन आग्रह गरेको हो ।
उद्योग संगठन मोरङले मंगलबार प्रेस नोट जारी गरी उद्योग व्यवसाय क्षेत्रले पछिल्ला वर्षहरुमा थुप्रै समस्या सामना गर्नु परिरहेको भन्दै वर्तमान समयमा नियमित गुणस्तरीय विद्युतको आवश्यकता रहेको जनाएको हो ।

औद्योगिक क्षेत्रले थुप्रै कठिनाइहरु सामना गर्नुपरिरहेको भन्दै उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले अहिले उपभोग गरिरहेको महशुल तुलनात्मक अरु मुलुकको भन्दा महंगो भएको पनि जनाएको छ ।

नाफामा रहेको प्राधिकरणले फेरि पनि विद्युत महशुल वृद्धि गर्दा उपभोग्य वस्तुको मूल्य बढ्ने र त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्ने भन्दै संगठनका अध्यक्ष राकेश सुरानाले मूल्यवृद्धिको निर्णय नलिन आग्रह गरेका हुन् ।

अध्यक्ष सुरानाले पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाइ भएको जनाए । उनले विद्युतको पुरानो संरचनाका कारण सानो झरी, बर्षा, हावामासमेत अत्यधिक पावर कट भई उत्पादन प्रकृया रोकिनाले जेनेरेटर संचालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्राँस आई स्वदेशी उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता नै घटिरहेकोमा पनि चिन्ता जनाएका छन् ।
प्राधिकरणको महशुल भुक्तानीमा विलम्व हुदा उपभोक्तासँग जरिवाना लिने तर विद्युतको गुणस्तरका कारण उद्योगको मिल मेशिनेरीमा आउने खराबीको जिम्मेवारी नलिने प्राधिकरणको व्यवहारप्रति पनि संगठनले प्रश्न उठाएको छ ।

संगठनले हाललाई उद्योगहरुले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युतको गुणस्तर, बारम्वार भइरहने न्यून भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युतको उपलब्ध गराउन प्राधिकरणसँग माग गरेको छ । त्यसैगरी अन्य सार्क राष्ट्रहरुले निर्धारण गरेको विद्युत महशुललाईसमेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसँग सम्वन्ध राख्ने विद्युत महशुल हाललाई यथावत राखी कुनै प्रकारको वृद्धि नगर्न संगठनले विद्युत नियमन आयोग समक्ष माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्