लक्ष्मी उप्रेती

मेचीनगर , फागुन २३ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर ११ र १२ ले बुधबार एकजना खेलाडीलाई सम्मान गरेको छ ।

समूहको २८ औँ साधारणसभाको अवसर पारेर नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले सम्मानित व्यक्तित्व कार्कीलाई नगदसहित मायाको चिनो प्रदान गरिन् । समूहका अध्यक्ष योगराज भट्टराईले उद्घाटन सत्रको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरे । २०५२ सालमा साविक धाइजन गाविसको १,२,३,४,५ र ६ नम्बर वडालाई लक्षित गरेर संचालित सो सामुदायिक वनको कुल क्षेत्रफल २ सय १२ हेक्टर रहेको छ ।

२०७३ सालदेखि नयाँ वन नीति तथा कार्यक्रमअन्तर्गत १ सय ९९ हेक्टर बैज्ञानिक वन व्यवस्थापन र १३ हेक्टरमा सिमसार क्षेत्रफल विभाजन गरी संरक्षण गरिएकोमा सरकारको नयाँ नीति तथा कार्यक्रमअनुरुप दीगो वन व्यवस्थापनअन्तर्गत हाल संरक्षण गरिर्दै आएको अध्यक्ष भट्टराईले जानकारी दिए । १ हजार ३ सय ६५ घरधुरी वनका उपभोक्ता रहेका छन् । उनीहरुको हकमा उच्च,मध्यम, विपन्न र अति विपन्न वर्गलाई विभाजन गरी सोहीअनुरुपको सेवा र सुविधा दिँदै आएको अध्यक्ष भट्टराईले बताए । समूहले वार्षिक रुपमा १ करोड ७७ लाख ९१ हजार रुपैयाँको कारोवार गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख उप्रेतीले नगरभित्र रहेका सामुदायिक वनहरुले नगरक्षेत्रभित्र पर्यापर्यटनमा निकै ठुलो योगदान पुर्याएको चर्चा गरिन् । वन नीति (हुभर फर्मुला अहिलेको नयाँ काठ मापन विधि), वन डढेलो, चोरी निकासी तथा तस्करी, जलवायु परिवर्तनका असरहरु, वन्यजन्तुले क्षति पुर्याएका बालीनालीमा दिने राहतमा ढिलासुस्ती, सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुङ्गा, गिटी बालुवाको दोहन नगरमा रहेका सामुदायिक वनको क्षेत्रमा देखिएका मुख्य चुनौती रहेकाले यी चुनौती समाधानमा स्थानीय सरकार सक्रियतापूर्वक लागिपर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।


मेचीनगरभित्र कालिका सामुदायिक वनको कालिका सिमसार, बाँसबारी सामुदायिक वनको बाँसवारी सिमसार, मागुरमाडी सामुदायिक वनको मागुरमाडी सिमसार,खुट्टीडाँगी सामुदायिक वनको खुट्टीडाँगी सिमसार, हातेमालो सामुदायिक वनको निचाझोडा सिमसार, प्रगति सामुदायिक वनको कालीखोला सिमसारले पर्यापर्यटनमा निकै ठूलो भूमिका खेलेको उप्रमुखको भनाई थियो । सिमसारबाहेक पर्यापर्यटनमा थोप्लेबिरान सामुदायिक वन र तेलपानीको सामुदायिक वनले बृन्दावनको रुपमा समेत निकै चर्चा कमाएको बताइएको छ ।

सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले सामुदायिक वनमा लगाइएको तेहेरो कर फिर्ता हुनुपर्ने, पान नम्बर सहजरुपमा प्राप्त गर्नुपर्ने, दिगो वन ब्यवस्थापनको कार्यक्रम अघि बढ्नुपर्ने , जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अनुकूलनका योजनाहरु तयार गर्नुपर्ने, सामुदायिक वनहरु पर्यापर्यटन उद्यममा अगाडी बढ्नुपर्ने,

वनक्षेत्रभित्र वन्यजन्तुका लागि खाद्य आहार, बास, केरारोपण र पिउने पानीको निम्ति पोखरीहरुको संरक्षण गर्नुपर्ने बताए । उनले वनक्षेत्रमा डीपीआर तयार गरेर सोलार फेन्सिङमार्फत जंगली हात्तीको क्षति रोकथामको निम्ति ७५ किलोमिटर डीपीआर भएकोमा मेचीनगरको बाँसबारी, मागुरमाडी बिट नम्बर १ र २, थोप्लेबिरान सामुदायिक वनक्षेत्रमा फेन्सिङ गरी गाउँक्षेत्रमा हात्ती प्रवेशका निम्ति रोक लगाउनुलाई निकै ठूलो उपलब्धिका रुपमा लिइएको बताउँदैं मेचीनगरका धेरै सामुदायिक वन स्रोतविहीन भएकाले सञ्चालनमा समस्या आउने गरेको स्पष्ट पारे । सामुदायिक वन क्षेत्रको सबैभन्दा ठूलो चुनौती जंगली हात्ती आतंक रहेको उनले बताए । मेचीनगर महासंघमा १३ वटा सामुदायिक वनहरु आबद्घ र क्रियाशील रहेका छन् । नगरभित्र रहेका यी वनले कुल २ हजार ३२ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफल ओगटेका छन् ।

कार्यक्रममा नेकपा एमाले ११ नम्बर वडाका पार्टी अध्यक्ष सागर ओली, सामुदायिक वन मेचीनगर महासंघका अध्यक्ष जानुका ओलीलगायतले बोलेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा कालिका सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष संगीता चौधरीले शब्दद्वारा स्वागत र सहसचिव खेमराज राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्