बिर्तामोड,फागुन २३ । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन् ।

दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोस्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिना खतिवडा तेस्रो र एमिटी माध्यमिक विद्यालयमा कक्षा ११ मै अध्ययनरत बानिरा ओली सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेताहरुले क्रमशः ७ हजार, ६ हजार, ५ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, महिला बालबालिका शाखा संयोजक यमुना आचार्य, कार्यपालिका सदस्य निर्मलादेवी सुनारलगायतले माला लगाइदिएर प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको निर्णायकमा मिलनकुमार ढुंगाना र विद्या रेग्मी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हकअधिकारका विषय कार्यान्वयन नहुँदा महिलाहरु पीडित बनेको बताइन् । पाएको अधिकार कार्यान्वयनका लागि सबैको हातेमालो हुनु पर्नेमा उनको जोड थियो । सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर निर्णय गर्न सक्ने ठाउँमा पुग्नु पर्ने भन्दै नगर प्रमुख प्रसाईले अर्थोपार्जनका लागि उत्पादनमा पनि ध्यान दिनु पर्ने बताइन् । नगर प्रमुख प्रसाईले नगरपालिकाले गरेका गतिविधिका बारेमा नकारात्मक टिप्पणीभन्दा पनि सकारात्मक ढंगले सुझाव दिन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा दिपा भण्डारीले नारी संकल्प शिर्षकको कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार कमला आचार्य, महिला मुक्ति अभियान अध्यक्ष राधा सुव्वा, वीरता लेडी जेसीसकी अध्यक्ष मेनुका ओली, एबीसी नेपालकी अध्यक्ष कन्चना सिटौला, सी लिड्सकी सम्झना पोख्रेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्