झापा, फागुन २४ । भारत आसामका बहुसंख्यक र समृद्ध बोडो ( मेचे) समुदायले नेपालका लोपोन्मूख मेचेहरुलाई सहयोग गर्न थालेका छन् ।

दुई देशमा रहेका मेचेहरुबीचको अस्तित्व र पहिचानको मुद्धासंगै जातीय उत्थानमा सहकार्य गर्ने वातावरण निर्माण भएको हो । हल्दिबारी गाउँपालिका वडा नं ४ ऐनाबारीको मेचे युवा क्लबले दुवै देशका मेचे समुदायलाई एक ठाउँमा संयोजन गर्ने भूमिका निर्वाह गरेको हो । सो क्लबको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तीन दिने सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।आसाम राज्यको बी.टी.आर. सरकारद्वारा बोडो युथ राइटर्स फोरमको छैटौ वार्षिक बोडो राइटर्स साहित्य सम्मेलन हल्दिवारीमा आयोजना गरिएको थियो।

फागुन २१,२२ र २३ गते ३ दिनसम्म चलेको कार्यक्रममा आसामको बोडो युथ राइटर्स फोरमका अध्यक्ष उकराङ नारजरी, महासचिव लखीराम बासुमतरी, प्रवक्ता सान्सुमा बोडोसहित करिव १२० जनाको प्रतिनिधिमण्डल सहभागी भएको थियो । आदिवासी मेचे जातिको आफ्नै भाषा, संस्कृति ,भेषभुषा , गीत संगीत रहेको छ । तर,नेपाल र भारत आसामका पुस्तान्तरणका कारण फरक देखिएको छ । भाषा , संस्कार र संस्कृतिको बारेमा बुझाउन तथा आपसी भाइचारा कायम राख्ने उद्देश्यले सो कार्यक्रम गरिएको मेचे युवा क्लबका अध्यक्ष अमृत मेचेले बताए । उनले हल्दिवारीको दीपेन्द्र आधारभूत विद्यालयमा कक्षा १ मा मेचे भाषाको पठनपाठन भइरहेको बताउँदै बोडो युथ राइटर्स फोरमको सहयोगमा पाठ्यपुस्तक तयार गरी कक्षा ५ सम्म मातृभाषामा अध्यापन गराउने विषयमा तयारी थालिएको जानकारी दिए । त्यस्तै हल्दिवारीमा मेचे जातिको मन्दिर निर्माण गर्नका लागि पनि फोरमले सहयोग गर्ने भएको छ । त्यसका लागि दुई कठ्ठा जग्गा खरिद गरिने अध्यक्ष अमृत मेचेले बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले मेचे समुदाय हल्दिबारीको एउटा पहिचान रहेको बताए । उनले हल्दिबारीका मेचे समुदायको संस्कृतिको संरक्षणमा सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । २०७८ को जनगणना अनुसार नेपालका मेचे जातिको जनसंख्या ५ हजार १७३ रहेको छ । त्यसमध्ये आधाजतिको बसोबास हल्दिवारी गाउँपालिकामा रहेको छ ।

कार्यक्रममा हल्दिबारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा,वडा नं ३ का वडाध्यक्ष विष्णु ओली, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल,आयुशा मेचे, शान्ता विश्वकर्मा, मेचे समाज सिवियारी आफातका अध्यक्ष रन्जित मेचे, समाजसेवी धुनीलाल मेचे, महेश मेचे,सन्तलाल मेचे, विशुलाल मेचेलगायतको आतिथ्य रहेको थियो।

कार्यक्रमको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डासहित आसाम र नेपालको मेचे युवा क्लबको झण्डोतोलन गरिएको थियो।यसैगरी दुबैतिरका कलाकारहरुबाट नृत्य, कविता वाचन तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्