झापा,फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम सातामा हुने भएको छ । एमाले जिल्ला कमिटी सचिवालय बैठकले वैशाख २४ र २५ मा १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

जिल्लाको नयाँ नेतृत्व चयन गर्नेगरी पार्टीको जिल्ला अधिवेशनको मिति तय गरिएको एमाले जिल्ला उपसचिव मणिशङ्कर पोमूले जानकारी दिए । उनका अनुसार वैशाखमा हुने जिल्ला अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ।

यता जिल्ला अधिवेशनको टुङ्गो लागेसँगै नेतृत्वका लागि आकाङ्क्षा राख्नेहरू पनि बढ्दै गएको पाइएको छ। एमाले ताप्लेजुङको आगामी नेतृत्वका लागि वर्तमान जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङ, पूर्व–उपसचिव गोपाल थोप्रा, संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फे लगायतको नाम चर्चामा आउन थालेको छ।

जिल्ला अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेगरी पहल हुने एमाले जिल्ला सचिव केशरकुमार सुब्बाले बताए । अन्तिमसम्म सर्वसम्मतका लागि पहल हुने र सहमति नजुटेमा मात्र अन्तिम विकल्पका रूपमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अपनाइने उनको भनाइ छ । जिल्ला अध्यक्ष बाहेकका पदमा पनि आकाङ्क्षीहरू धेरै जना भएको बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्