झापा,फागुन २४ । पाठेघरको मुखको क्यान्सर परीक्षण र रोकथाम सम्बन्धी सचेतना अभियान सुरु भएको छ ।

एनसेल,मेरीस्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको संयुक्त सहकार्यमा राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुरु भएको अभियान एक महिनासम्म चल्ने भएको छ । ।

परिवार कल्याण महाशाखाकी शाखा प्रमुख शर्मिला दाहाल पौडेलले पाठेघरको मुखको र स्तन क्यान्सर बारे जानकारी प्रदान गर्न अभियान सुरु गरेको जानकारी दिइन् ।

पाठेघरको मुखको र स्तन क्यान्सरको नियमित परीक्षण गर्न प्रोत्साहन गर्न, समुदाय स्तरमा पाठेघर मुखको र स्तन क्यान्सर बारे बृहत् सचेतनाका लागि सहकार्य र पैरवी गर्ने उद्देश्यले यो कार्यक्रम गरेको उनको भनाई छ ।

उनले भनिन्, “यस अभियानको मुख्य उद्देश्यले यो अभियान लानुहुने जिल्लामा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ ।”

अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्ने जनाएको छ ।

मार्च महिनामा सुरु हुने अभियानमा ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाई छ ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा पर्दछ । पाठेघरका मुखको क्यान्सरका कारण महिलाले अकालमै ज्यान गुमाउनु परेको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्