बिर्तामोड , फागुन २५ । बिर्तामोड– ३ बिर्ताबजारमा रहेको पुरातात्विक महत्वको ऐतिहासिक शिवालय मन्दिर चेपुवामा परेको छ ।

धार्मिक आस्थाको धरोहर शिवालय मन्दिरको जग्गा अतिक्रमण भएपछि मन्दिर नै मासिने अबस्थामा पुगेको हो । शुरुदेखि नै सो मन्दिरमाथि आक्रमण हुँदै आएको छ । मन्दिरलाई सतानुसिंह राजवंशीको परिवारले करिव डेढ विगाह जग्गा दान दिएका थिए । त्यस जग्गामा महेन्द्र रत्न माविले विद्यालय भवन बनाएको थियो । त्यसपछि शिवालयकै करिव अठार कठ्ठामा अनारमनी पव्लिक क्याम्पस स्थापना भयो । त्यसपछि बाँकी रहेको मन्दिर परिसरको करिव ५ कठ्ठा जग्गामा समेत दुई वर्षअघि ४५ वटा टहरा निर्माण गरिएको छ ।

मन्दिरलाई चारैतिरबाट चेपुवामा पारिएको छ । बिर्ताबजारमा कम्प्लेक्स निर्माण हुन थालेपछि त्यहाँ रहेका व्यवसायीहरुलाई मन्दिर परिसरमा टहरा निर्माण गर्न दिइएको थियो । कम्प्लेक्स निर्माण सम्पन्न हुन लागेको छ । तर, त्यहाँका व्यवसायीहरुले सर्ने सुरसार गरेको देखिदैन ।

यसरी मन्दिरको सम्पूर्ण जग्गा मासेर आफूहरुले बनाइदिएको मन्दिरको समेत अस्तित्व नै संकटमा पारेपछि दाता परिवारले दुःख व्यक्त गरेका छन् । त्यस मन्दिरमा शिवरात्रिको दिन जल चढाउनेहरुको निकै ठूलो घुँइचो लाग्ने गरेको थियो । त्यसको भोलिपल्ट त्यहाँ मेला लाग्ने गरेको थियो । मन्दिरको जग्गा सबै अतिक्रमण भएपछि साँघुरो ठाउँमा जल चढाउन समस्या भएको भक्तालुहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्