बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चार पटकको झापा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपीएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।

एपीएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।
पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपीएफका अनिश महर्जनले गोल गर्न सकेनन् । ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो भयो ।

चार पटकको विजेता आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले एपीएफविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली एपीएफका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा विजेता टिम एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले विदेशी खेलाडीलाई झापाको मौसममा खेल्न सहज भएकाले जित निकाल्न सकेको बताए । उनले खेलाडीबीच तालमेल मिल्दै गएकाले फाइनलमा योभन्दा सुधारिएको प्रदर्शन गर्ने दावी गरे ।

आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको बताए । डिफेन्डर र फरवार्डको प्रदर्शन सन्तोषजनक रहेको उनले बताए । दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्