झापा, फागुन २५ । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो ३ः३० बजेको समयमा बुद्धशान्ति–२ गोपालडाँडा बस्ने ६२ वर्षीय शशिधर नेपालको घरमा कुटि काट्ने क्रममा बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट काठ र सिमेन्टले बनेको २ तले घर, घरभित्र राखेको नगद ३० हजार , सुन ९ तोला,चाँदी १२ तोला, टीभी १ थान ,सखुवाको काठ ३० क्यु.फिट,बिभिन्न फर्निचरको सामान,महत्वपूर्ण कागजपत्र,बिद्युतको मिटर बक्स,कुटि काट्ने मेसिनलगायतका धनमाल जल्दा अन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट घरमा नै जोडिएको गाईगोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको ७ जनाको प्रहरी टोली, मेचीनगर र बिर्तामोड नगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगमा दिउँसो ४ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्