छोटो समयमा धेरै पैसा कमाउने प्रलोभन

लक्ष्मी उप्रेती,
मेचीनगर, फागुन २५ । फागुन १३ गते झापा मेचीनगर नगरपालिका —६ पुरानो मेची पुलबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले गोप्य सूचनाका आधारमा दमक नगरपालिका —२ बस्ने ४५ वर्षीया कमला तामाङ र सोही ठाउँका ३३ वर्षका प्रविन तामाङलाई चेकजाँच गर्ने क्रममा ९ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरको आशंकामा नियन्त्रणमा लियो ।

फागुन १३ गते साँझ नै लागूऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा प्र—१ —०२—०४१ प १०३८ नम्बरको मोटरसाइकललाई चेकजाँँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवारी मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडाभित्रको भागमा लुकाईछिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला पारेर मोटरसाइकल चालकसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिम्मा लगायो ।

फागुन २१ गते बिर्तामोड नगरपालिका —६ बुट्टावारीस्थित एउटा घरमा लागूऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारीबाट प्रहरी सहायक निरीक्षक सरोज थापा समेतको प्रहरी टोली खटिगई चेकजाँच गर्दा घरको कोठाभित्र इलाम सन्दकपुर गाउँपालिका —४ की २५ वर्षीया बबिता गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित ६ हजार ९ सय रुपैयाँ प्रहरीले फेला पार्यो । घटनामा संलग्न घरधनीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मा लगायो ।

जघन्य र संगठित अपराध मानिने लागूऔषध ओसार पसारमा पछिल्लो समय झापामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । काँकरभिट्टा नाकाबाट अहिले दैनिकजसो प्रहरीले लागूऔषधसहित महिलालाई पक्राउ गर्ने क्रम बढेसँगै सीमावर्ती भारतीय बजारमा खुलेआम किनबेच हुने यसको ओसार पसारमा महिलाको प्रयोग हुन थालेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिनामा यस्तो गतिविधिमा संलग्न २ सय ३ जनालाई पक्राउ गरिसकेको छ । तीमध्ये महिलाको संख्या १७ रहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले पक्राउ परेका कुल महिलाहरुमध्ये ३ जना भारतीय रहेको बताए । उनका अनुसार लागूऔषध कारोवारीले सामान ओसार पसारका लागि महिलाको प्रयोग गर्न थालेका छन् । यसलाई यी माथिका घटनाले पुष्टि गर्ने उनको भनाई छ ।

आर्थिक वर्षको शुरुवाती साउनदेखि माघ महिनासम्ममा लागूऔषध ओसार पसारमा संलग्न भएको आरोपमा एकसय ७७ जना स्वदेशी र ९ विदेशी नागरिक गरी कुल १ सय ८६ जना पुरुष पक्राउ परेका छन् । साउन महिनामा मात्र ३ जना महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यो महिनामा लागूऔषध ओसार पसारका २५ घटनामा पक्राउ परेका ३७ जनामध्ये ३ जना महिला नै थिए । महिलाहरुले ओसार पसार गर्दा प्रहरीले निगरानी र चेकजाँच गर्दैन भन्ने गलत मान्यताका कारण पनि महिलाहरु बढी मात्रामा प्रयोग भएको हुनसक्ने प्रहरीको बुझाई छ । ‘यसले पनि पुष्टि गर्दछ पछिल्लो समय यो धन्दामा महिलाहरुको प्रयोग बढिरहेको छ भन्ने ’ लागूऔषध नियन्त्रण व्यूरोका एकजना प्रहरी अधिकारीले भने । महिलाहरुले आफ्नो संवेदनशील अंगहरुमा लुकाउन सजिलो हुने भएकाले पनि महिलाहरु यो अपराधमा बढी प्रयोग हुने गरेको ती अधिकारीको भनाई छ ।

घटनामा पक्राउ कोही धरौटीमा छुटेका छन् भने कोही पुर्पक्षका लागि कारागार चलान भएका छन् । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिन्छन् । ‘लागूऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा महिला प्रयोग गरेको पाइएको छ’ ती अधिकारीले भने । प्रयोग भएका धेरै ग्रामीण क्षेत्रका सोझा महिलाहरु रहेको प्रहरीको भनाई छ । अनुसन्धानका क्रममा गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभ लालचमा फसाएर यस्तो अपराधमा संलग्न गराएको बताईएको छ ।

ओसार पसारको क्रममा ठूला व्यापारीसम्म नपुग्दै उनीहरु बाटैमा पक्राउ पर्ने गरेका छन् । कतिपय महिलाहरु कानुन थाहा पाउँदा पाउँदै, अनि कति त पैसाको लोभले पनि संलग्न भएको देखिन्छ । त्यस्तै काममा लागेका टाँठोबाठोले सोझा र इमान्दार महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुल्ने गरेको एक जना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । कतिपय चाँहि उच्च घरानाका, श्रीमानको मृत्यु भएका महिलाहरु संलग्न रहेको देखिन्छ । अन्जानमा भन्दा पनि जानी जानी छिट्टै पैसा कमाउने र थोरै सामान बोकेवापत धेरै पैसा कमाउने भएकाले यसमा महिला लोभिएका छन् ।

प्रहरीका अनुसार केही रकम लिएर यसरी प्रयोग भएका महिलाले डिलरबाट अवैध रुपमा नेपालमा व्यापार गर्नेसम्म लागूऔषध पुर्याउने जिम्मेवारी पाएका हुन्छन् । कतिपय गाउँमा लागूऔषध खरिदको काम पनि महिलाले गरेको देखिएको र उनीहरु नै आफूले खरिद गरेको लागूऔषध ठूला व्यापारी भएको ठाउँसम्म पुर्याउने जिम्मा लिएका हुन्छन् । यस्तो अपराधमा अहिलेको युवा समूह नै संलग्न हुँदा भावी पुस्तालाई पनि हत्या, हिंसाजस्ता अपराधमा प्रोत्साहित गर्नसक्ने खतरा रहेको यसका जानकारहरु बताउँछन् । लागूऔषधजस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसार पसारमा भन्दा उत्पादन हुन नदिनेतर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ । संगठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ । यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु जरुरी देखिएको छ । नेपालको कानूनले उत्पादन, ओसार पसार र बिक्री वितरणमा प्रतिबन्ध लगाएपनि लुकिछिपी उत्पादन र ओसार पसारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिएको प्रहरी दावी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्