भद्रपुर, फागुन २५ । लायन्स क्लव अफ बिर्तामोड लेडीले झापा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण गरेको छ ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक सय थान कपडा वितरण गरिएको हो । कुर्ता, सुरुवाल र सारी वितरण गरिएको लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, भद्रपुर वडा नंं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना,एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रधानाध्यापक अनुप शर्मा , भद्रपुर लायन्सकी अध्यक्ष शर्मिला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख प्रसाईले महिला कैदीबन्दीको सीप, क्षमता र सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिँदै नारी दिवसको शुभकामना दिएकी थिइन् । संगीता चिमरियाले सञ्चालन गरेको उक्त कार्यक्रममा आन्तरिक सुरक्षा प्रशासन प्रमुख रीता राईले धन्यवाद ज्ञापन गरेकी थिइन् । झापा कारागारमा ९१ जना महिला कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्