झापा,फागुन २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिबार बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।
तर उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ। बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए । कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नलिइसकेको उनको भनाइ छ ।
बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको नेता केसीले जानकारी दिए।
यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको तयारी थियो। तर, सत्ता समीकरण फेरिएपछि कसलाई उम्मेदवार बनाउने भन्ने कांग्रेस अन्योलमा छ। राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद छन्।
नयाँ गठबन्धनबाट राष्ट्रिय सभाको अध्यक्षमा माओवादीबाट उम्मेदवार उठाउने सहमति भएको छ। हाल राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ। राष्ट्रिय सभामा नयाँ गठबन्धनको बहुमत छ।
माओवादीका उपाध्यक्षसहित १७, एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन्। राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्