झापा,फागुन २६ । दुध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थानले यो चालु आर्थिक वर्षमा नाफा कमाएको छ । प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डिडिसी यो चालु आव २०८०-८१ को छ महिनामा नाफामा गएको देखिन्छ ।

चालु आव २०८०-८१ को साउनदेखि पुस मसान्तसम्म डिडिसीले पाँच करोड १५ लाख पाँच हजार १९४ रुपियाँको नाफा देखाएको छ । डिडिसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको देखिन्छ ।

त्यस हिसाबले कर फर्स्योटपछि पाँच करोड १५ लाख नाफा गरेको छ । गत आव २०७९-८० मा डिडिसी ४९ करोड ५१ लाख ४० हजार रुपियाँ घाटामा थियो । गत आवमा तीन अर्ब ६५ करोड ६६ लाख ६० हजार रुपियाँ आम्दानी गरेको थियो भने चार अर्ब १५ करोड १८ लाख एक हजार रुपियाँ खर्च गरेको थियो ।

डिडिसी छ वर्षअघि अर्थात् आव २०७४-७५ मा चार करोड ७५ लाख रुपियाँ नाफा गरेको थियो । त्यसपछि लगातार घाटामा गइरहेको थियो । यो चालु आवमा नाफा देखाएको छ । त्यो नाफा अहिले नगदमा देखाइएको छैन । डिडिसीका महाप्रबन्धक सञ्जीव झाले यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिन्छ तर त्यो नगदका रूपमा हात नपरेको बताए । उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन सुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए ।

उनले भने, “हाम्रो भण्डारमा एक अर्ब १० रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेका छन्, जसमा ८५० मेट्रिक टन धुलो दुध, ७५० मेट्रिक टन बटर रहेका छन् । किसानबाट खरिद गरिए पनि त्यो बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको बताउँदै उनले मौज्दात रहेको दुग्ध पदार्थ बिक्री भयो भने भुक्तानीका लागि केही समस्या नहुने उनले बताए । डिडिसीले करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।

नाफामा जानुको मुख्य कारणमा उनले दुधमा आएको गुणस्तरमा सुधार नै रहेको दाबी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्