इलाम,फागुन २७ । इलामको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यको लागि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनका लागि टिकट लिन आकांक्षीहरुबीच हानाथाप चलेको छ ।


यस निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता टिकट हत्याउने प्रतिस्पर्धामा लागेका छन् भने स्वतन्त्र उम्मेदवारले घोषणै गरिसकेका छन् ।

२०५६ सालदेखि नेम्वाङले निरन्तर जित हासिल गर्दै आएको सो क्षेत्रमा नेम्वाङका कान्छा छोरा सुहाङले दह्रो आकांक्षा व्यक्त गरेका छन् । सुहाङ पछिल्ला दिनमा राजनीतिक कार्यक्रममा सक्रिय भएर लागिपरेका छन् ।
राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुकै बिडो थामेर अधिवक्ता बनेका सुहाङ राजनीतिमा पनि बाबुकै उत्तराधिकारी खोज्दै छन् । उनले बुबाको सपना पूरा गर्न आफू जिम्मेवार बन्ने बताउँदै आएका छन् ।

सुहाङ बुबा सुवासचन्द्रको निधनपछि चर्चामा रहे पनि जिल्लामै रहेर राजनीति गरिरहेका एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले पनि उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । त्योसँगै सुवासकै स्वकीय बनेका बुद्धि खनाल पनि टिकटको दौडाहामा छन् । जिल्लाबाट रवीन्द्र, बुद्धि र सुहाङकै नाम सिफारिस हुने बुझिएको छ । योसँगै स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको टिकट पाएर पनि खोसिएका नरेन्द्रनाथ भट्टराईले पनि दाबेदारी प्रस्तुत गर्न छोडेका छैनन् ।

यता लामो समयसम्म एमालेले वर्चस्व जमाएको ठाउँलाई तोड्ने दाउमा नेपाली कांग्रेस लागिपरेको छ । २०७९ को निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित बनेका कांग्रेसका डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने कसरतमा छन् । तर, उनी सर्वसम्मत भने होइनन् । गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य पनि लागिरहेका छन् । कांग्रेस नेता केशव थापासमेत मैदानमा छन् । तीन जनामध्ये कसले टिकट ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी पनि जित हासिल गर्न अहिलेदेखि नै लागिपरेको छ । रास्वपाले त्यहाँको वस्तुस्थिति अध्ययन गर्न पार्टीका केन्द्रीय नेतालाई खटाएको थियो । उनीहरूले दिएको सुझावका आधारमा उम्मेदवार बनाउने तयारी गरिरहँदा जिल्लामा भने रमेश प्रसाईँको नाम चर्चामा छ भने स्वतन्त्र उम्मेदवारका रूपमा पत्रकार मिलन लिम्बूले उपनिर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । यसै निर्वाचन क्षेत्रमा स्थायी बसोबास रहेका लिम्बूले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका थिए । उम्मेदवार बन्ने भएसँगै पत्रकारिताबाट अलग भएको उनले दावी गरेका छन् । त्यस्तै हर्क साङपाङले पनि एक जनालाई तयारी गरेर उठाउने भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्