फाइल तस्वीर

लक्ष्मी उप्रेती,

मेचीनगर ,फागुन २७ । झापा मेचीनगर—६ काँकरभिट्टाका ४६ वर्षीय रणकृष्ण श्रेष्ठ (नाम परिवर्तन) कक्षा ९ मा पढ्दापढ्दैं लागूऔषध दुर्व्यसनमा फसे । त्यसबेला उनको उमेर १४ वर्षको थियो । शुरुमा चुरोटबाट शुरु भयो उनको यो लत । चुरोटबाट शुरु भएको दुर्व्यसनको यात्रा अहिले ब्राउनसुगरदेखि कडा पदार्थसम्म पुग्यो । चुरोट खान सिकाउने अरु कोही नभएर घरकै आँगन जोडिएका छिमेकी विक्रम चौधरी ( नाम परिवर्तन) नै थिए । चुरोटबाट बिग्रिन शुरु भएको श्रेष्ठको जिन्दगी अहिले निकै कठिन रुपमा अघि बढिरहेको छ । चौधरीसँगैको बाक्लो हिमचिम र उठबसले उनी लागूपदार्थ सेवनमा चुर्लुम्म डुबे ।

‘लागूऔषधमा फस्ने कुरा जिन्दगीमा सोचेको थिइनँ, साथीहरुको संगतले लागूऔषधमा फसे, परिवार, आफन्त र समाजबाट टाढा भएँ, आफ्नै घरपरिवार सन्तानलाई चिन्न सकिनँ’ उनले भने, ‘चुरोट खाँदाखाँदै गाँजा, चुरोट हुँदै अन्य लागूऔषधहरु समेत प्रयोग गरेँ, लागूऔषधकै कारण पढाइ छोडेँ अहिले सम्झदा पीडा हुन्छ ।’

श्रेष्ठ लागूऔषधमा फसेको त्यो कहालीलाग्दो अँध्यारो यात्रालाई बिर्सेर अब कसरी नयाँ जीवन जिउने भन्ने सोचाइमा छन् । ‘म जानेर वा नजानेर साथीको लहैलहैमा लागेर यो कुलतमा छिरेँ’ श्रेष्ठले अतित सम्झिदैं भने,‘ यसैका कारण मेरो घरपरिवार तहसनहस भयो, सँगै हुर्केका खेलेका साथीभाइको नजरमा म छिछि दूरदूर भएँ, छिमेकीको नजरमा निकै घृणित भएँ । म गाउँ प्रवेश गर्नेबित्तिकै गाउँले सबै सतर्क हुन थाले ,परिवारबाट अलग बस्नु परेको छ । न आमाको प्यारो छोरा र बुढेसकालको सहारा बन्न सकेँ, न आफ्नै श्रीमतीका लागि असल श्रीमान न त दुईजना सन्तानका लागि जिम्मेवार अभिभावक नै । ’

श्रेष्ठ दुई सन्तानका पिता हुन् । उनी भन्छन् ‘आज मेरो यो हविगत हुनुको कारण लागूऔषधको सेवन नै हो । म सही मार्गमा हिडेर मैले मेरा घरपरिवार र मेरा सन्तानलाई असल शिक्षा संस्कार दिएको भए मेरो यो अवस्था पक्कै पनि आउने थिएन । आज श्रीमतीले मलाई छाडेर दोस्रो विवाह गरिन् । छोराछोरीलाई मैले सही शिक्षादिक्षा दिन सकिनँ यो मेरो कमजोरी हो । अहिले पछुताएर केही नहुने रहेछ शुरुमा काम विगारेपछि ।’ श्रीमतीले दोस्रो विवाह गरेकोमा उनलाई कुनै पश्चाताप छैन् । भन्छन् ‘मबाट निकै सास्ती पाइन् , मलाई सपार्न धेरै खोजी तर, सकिनन् र यो बाटो रोजी, राम्रो होेस् ।’

पारिवारिक असन्तुलन, सामाजिक बहिस्कार र शारीरिक स्वास्थ्यमा धेरै समस्या आएको छ यतिखेर उनलाई । यसैका कारण प्रहरीले धेरै पटक पक्राउ गर्यो श्रेष्ठलाई । प्रहरी हिरासतदेखि कारागारसम्म पुग्नु पर्यो लागूऔषधकै कारण । त्यहाँभित्र भोग्नु परेको समस्या पीडा र दुःख अहिले पनि उनी स्मरण गर्न चाहान्नन् । ‘कुटाइ त कति खाइन्छ भनी साध्य छैन । सरसफाई कति गर्नुपर्छ त्यसको कुरै नगरौ, मलाई प्रहरीको हिरासत र कारागार सम्झिँदा मेरो जीउ नै थररर.. काम्छ ती घटना म सम्झिन पनि सक्दिनँ कहाली लाग्छ । ’

श्रेष्ठको अनुभवमा लागूऔषधमा फसेका धेरै युवायुवतीहरुले चुरोट सेवनबाट शुरुवात गरेको पाइन्छ । चुरोट खाने, चुरोटले नपुगे चुरोटसंग गाँजा मिसाउने, पछि अन्य लागूऔषध मिसाउने गरेको पाइन्छ ।

दुर्व्यसनमा फसेका युवाहरुले लागूऔषध सेवनका लागि चाहिने आवश्यक रकम जुटाउन चोरी गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । तर, आफूले चाँहि अहिलेसम्म कहिले पनि यस्तो कर्म नगरेको श्रेष्ठ सुनाउँछन् । ‘नखाई सकिदैं सकिदैंन ’उनले भने,‘ खानका लागि पैसा चाहिन्छ, सबैसँग पैसा हुँदैन अनि चोरी लुटपाटजस्ता अपराध कर्ममा लाग्ने गर्छन् । निकै महँगा महँगा सामान चोर्ने र सस्तो दाममा बिक्री गर्ने गर्छन् । तर, आफूले अहिलेसम्म कसैको चोरी लुटपाट नगरेको उनको भनाई छ । ‘बरु हराएका त्यस्ता सामान शंकास्पद ठाउँमा पुगेर फिर्ता ल्याईदिएको छु ’ उनले भने ।

उनी थुप्रै पटक सुधार केन्द्रमा बसेर आएका छन् । लागूऔषधमा फसेका युवाहरु परिवार र समाजमा पुनर्स्थापना हुन निकै समस्या हुने गरेको उनको अनुभव छ । यस्तो कुलतमा फसेका व्यक्तिहरु सामान्य जीवनमा फर्किनका लागि पनि सेवन गर्नैपर्ने उनको भनाई छ । तर, गाउँ समाज, परिवार ,साथीभाइले उनीहरुलाई हेर्ने दृष्टिकोण फरक भएका कारण समाजमा पुनर्स्थापना हुन गाह्रो भएको उनी सुनाउँछन् । लागूऔषध प्रयोग गरिरहेको समयमा प्रहरीले पक्राउ गरेपछि परिवारले सुधार केन्द्रमा राखेर उपचारपछि घर फर्केपनि पहिलेका साथीभाइले विश्वास नगर्ने, नबोल्ने, फोन नगर्दासम्म नउठाउनेलगायतका नकारात्मक व्यवहारले अघि बढ्न नसकेको र पुनः कुलततर्फ नै फर्किन बाध्य भएको उनको गुनासो छ । ‘लागूआषैधमा छोराछोरी फस्दा परिवारमा हुने समस्या त्यो परिवारलाई जति थाहा हुन्छ अरुलाई हुँदैन ’उनले भोगाई सुनाए ।

पुनर्स्थापना केन्द्रमार्फत लागूऔषधमा फसेकालाई मनोपरामर्श गर्ने, योग तथा ध्यान गराउने र विस्तारै परिवारमा पुनर्मिलन गराउँदै सामान्य जीवनयापनमा फर्काउने काम गरिरहेको झापाको मेचीनगर—६ काँकरभिट्टामा रहेको नवयात्रा पुनर्स्थापना केन्द्रका सञ्चालक अर्जुन राई बताउँछन् । लागूऔषधमा फसेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको उनको पनि अनुभव छ । समाजले हेर्ने दृष्टिकोण बद्लियो भने लागूऔषधबाट छुटकारा पाउन सक्ने उनी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्