झापा, फागुन २७ । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो ।

यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।

पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले जानकारी दिए ।

निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उनको भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको उनको भनाइ छ । “हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ”, उनले भने, “अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ ।”
फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित रु २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो । पुलको पहिलो इस्पानको लम्बाइ ३७ दशमलव ५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८ दशमलव ३८ मिटर रहेको छ । हालसम्म रु १० करोड २९ लाख ११ हजार छ सय ४२ भुक्तानी भएको छ ।
सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्