झापा,फागुन २६ निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
आइतबार आयोग प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन अघि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि अध्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन्।
२०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि आयोगले चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको हो। आगामी वैशाख १४ गते १८ वर्ष पुग्नेले पनि उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्।
निर्वाचनको घोषणा भएसँगै आयोगले देशभरकै मतदाता नामावली अध्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलन भएका मतदाता नामावलीको अध्यावधिक तथा दाबी विरोधको प्रक्रिया अघि बढाएको हो।
आयोगले फागुन १३ गतेसम्म संकलन भएका विवरणहरूको अद्यावधिक गर्न लागेको हो। जसबाट आउँदो वैशाख १४ गतेसम्म १८ वर्ष पुग्ने मतदाताको विवरण पनि अध्यावधिक गर्ने आयोग प्रवक्ता पौडेलले बताए।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गते देखि २०८० चैत्र ५ गते सम्म सञ्चालन हुनेछ।
यसका लागि फागुन २८ गते आयोगको बेवसाइट www=election=gov=np_मा मतदाता नामावली प्रकाशन गरिन्छ।
उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि applyvr=election=gov=npमा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।
त्यसपछि चैत २२ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी थालेको हो। यस कार्यक्रमको प्रभावकारिताका लागि आयोगले गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीहरूलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्ला राजनीतिक दलहरूसँग बैठक राखेर कार्यक्रम सम्बन्धी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।