झापा,फागुन २७ । झापाको भद्रपुर र हल्दिवारीमा भएका सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

आज दिउँसो सवा ४ बजेको समयमा भद्रपुर नगरपालिका ८ सगरमाथा चोकमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र.१–०१–००२ च ६८९६ न.को बलेरो गाडीले बिपरित दिशाबाट जाँदै गरेको मे १० प ४२२७ नं.को स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक भद्रपुर ४ मन्त्रीचोक बस्ने ३० वर्षीया अनुपमा राजवंशी र पछाडि सवार सोही ठाउँ बस्ने ३१ वर्षीया कृष्ण राजवंशी घाइते भएका छन् । दुवै जना घाईतेहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको छ । उनीहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बलेरो चालक पाँचथर फिदिम ८ घलेगाउँ बस्ने २९ वर्षीय उमेश गुरुङलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै आज दिउँसो ४.४५ बजेको समयमा हल्दिवारी १ काजली चोकस्थित भित्री सडकखण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा मे ८ प ८१२ नं. को मोटरसाइकल चालक कचनकवल १ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको, अनुहार र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार गौरादह १ बस्ने १८ वर्षीय पुकार कट्वालको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

त्यस्तै मे १० प ६५१५ नं. को मोटरसाइकल चालक कचनकवल ३ बस्ने २२ वर्षीय रोशन खतिवडाको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । घाईते सबै जनालाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाईएको र दुवै मोटरसाइकल प्रहरी चौकी जलथलको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्