झापा, फागुन २७ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ ।
२०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धन हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यक्षमा एमालेको उम्मेदवार बन्ने सहमति छ ।

उता राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्