झापा,फागुन २८ । कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।


शिवसताक्षी नगरपालिकाको कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यका लागि ट्रे मा बिउ राखेर मेसिनबाट नै धान रोपाइँ सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ मा नगर प्रमुख रोशन थोप्रासहितको उपस्थितिमा उन्नत प्रविधि प्रदर्शनसहित धान रोपाइँ सम्पन्न भएको हो ।


राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले प्रविधिको प्रयोग र आधुनिक तवरले धान खेतीका लागि नगरपालिकाले पनि विशेष कार्यक्रम ल्याउने बताए । उनले उन्नत प्रविधिबाट धान रोप्दा उत्पादन लागत कम भएर किसानलाई धेरै फाइदा पुग्ने देखिएको जनाउँदै यस प्रकारको प्रविधि अवलम्बन गर्न किसानलाई अनुरोध गरे । कनकाई सिँचाइ आयोजना क्षेत्रमा जापान सरकारको सहयोगमा कृषि प्रणाली सुधारमा काम भइरहेको जनाउँदै यसका लागि स्थानीय सरकार समन्वय गर्दै अघि बढ्न तयार रहेको जनाए । “कनकाइ सिँचाइको नहरलाई फोहोर फ्याल्ने स्थल नबनाएर निरन्तर पानी बग्ने अवस्था ल्याउन हामी लागि परेका छौ,” उनले भने ।

गौरादह नगरपालिका–९, गौरीगन्ज गाउँपालिका–१ र कमल गाउँपालिकामा चैते ५ जातको धान उन्नत प्रविधिबाट रोप्ने कृषि ज्ञान केन्द्रको योजना रहेको विष्टले जानकारी दिएका छन् । जिल्लाभर करिब ७० बिघा जमिनमा यस किसिमको प्रदर्शनी खेती गर्न सुरु गरेको विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्