झापा,फागुन २८ । आफन्तहरू नै बिचौलिया बन्दा वैदेशिक रोजगारमा जानेहरू ठगिने क्रम बढ्दो समस्याको रूपमा देखिएको छ । आफन्त बिचौलियाबाट ठगिएकाहरुको उजुरी मोरङमा बढेको हो । चालु आर्थिक वर्षको फागुन २५ गतेसम्ममा जिल्ला प्रशासन कार्यालय मोरङमा १२६ जनाले दिएको उजुरीमध्ये अधिकांश आफन्तहरुबाटै ठगिएको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि आप्रवासी स्रोत केन्द्र र स्रोत उपकेन्द्रले कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । गत फागुन २५ गतेसम्ममा १२६ जनाले उजुरी दिएका छन् । उजुरी दिएका मध्ये २१ जनाले भने न्याय पाएको आप्रवासी स्रोत केन्द्र विराटनगरका संयोजक दीपक राउतले बताए । १२६ वटा उजुरीमा ३ करोड ९४ लाख ८६ हजार १४७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको भन्दै संयोजक राउतले भने ‘१ करोड १३ लाख ४३ हजार ५०० रुपैयाँ ठगिएकाहरूलाई फिर्ता गराउन सफल भएका छौं ।’ उनले २१ जनाको उजुरी मिलापत्र गर्दा उक्त रकम फिर्ता भएको जानकारी दिए । मिलापत्र भएका अधिकांश उजुरी आफन्तबाटै ठगिएको भन्ने थियो । जिल्ला प्रशासन कार्यालयले अधिकांश घटनामा आफन्त नै बिचौलिया बनेको पायएको जनाएको छ । ‘हाम्रामा परेका उजुरीहरू उपर छलफल गर्दा चिनजान तथा आफन्त नै म्यानपावरको एजेन्ट देखिएका छन् । गाउँ गाउँका मानिस खोज्न टोलै पिच्छेजस्तो एजेन्ट राखेको देखिन्छ । एउटा व्यक्ति खोजिदिए बापत उनीहरूले ३० प्रतिशतसम्म कमिसन लिने गरेको खुलेको छ । कारोबार गर्दा बंैकबाट नगरी नगदबाट गर्ने गरेका कारण ठगीमा पर्ने र ठगिएकाहरुसँग प्रमाण नहुने समस्या देखिएको छ ।’ एकै जनाले ४ लाखदेखि १६ लाख रुपैयाँसम्म एजेन्टले लिएको विषय उजुरीमा समावेश छन् ।

अघिल्ला वर्षहरूमा खाडी मुलुकहरूमा पठाउने नाममा ठगिएका घट्नाहरु बढी आउने गरेका थिए । तर पछिल्लो समय भने युरोपियन मुलुकहरूमा पठाउने नाममा ठगी गर्ने क्रम बढेको छ । प्राप्त उजुरीका आधारमा मलेसिया, साउदी, दुबई, युएई, माल्टा रोमानिया, दक्षिण कोरियालगायतका मुलुकमा पठाउने भन्दै गिरोहले ठगी गर्ने गरेको देखिएको छ । दक्षिण कोरियामा जानका लागि इपिएस भाषा परीक्षा पास गर्नुपर्छ । तर बिचौलियाले परीक्षा उतीर्ण नगरी पैसा लिएर पठाइ दिने भन्दै ठगी गर्ने गरेको आप्रवासी स्रोत केन्द्र विराटनगरकि परामर्शकर्ता मुना कोइरालाले बताइन् ।

‘विदेश पठाउन कुनै इजाजत नभएका व्यक्तिले पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा असुल्ने गरेको पाइएको छ,’ कोइरालाले भनिन् ‘पैसा दिएको प्रमाणसमेत हुँदैन ।’ प्रमाण नै नहुने गरी बिचौलियाले पैसा असुल्ने गरेको उनले बताइन् । लाखौँ रुपैयाँ असुले पनि म्यानपावरले भने १० हजारको मात्रै रसिद दिने गरेको आप्रवासन केन्द्रले जनाएको छ । सरकारी नियमअनुसार एजेन्टहरुले रसिद दिने भएकाले थप रकम लिएको प्रमाण पु¥याउन गाह्रो हुने गरेको उनले बताइन् ।आप्रवासन केन्द्रले वैदेशिक रोजगारीमा जानेहरूलाई सूचनामा तथा न्यायमा पहुँचका साथै विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । निःशुल्क कानुनी सहायतासमेत उपलब्ध गराउने गरेको कोइरालाले जानकारी दिइन् ।

वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीले दिने कमिसनको प्रलोभनले वैदेशिक रोजगारीमा जानेहरू ठगीमा पर्दै आएका छन् । एउटै व्यक्तिले १७ जनाबाट २ करोड भन्दा बढी संकलन गरेको उजुरी आप्रवासी स्रोत केन्द्रमा परेको थियो । ‘मोरङको सुनवर्षीका एक युवाले जापान पठाइदिने भन्दै हाम्रोमा उजुरी परेको थियो,’ संयोजक राउतले हाम्रोमा निवेदन आउँदा २ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भनेर आएको थियो । यो अदालतमा विचाराधीन अवस्थामा रहेकाले मैले धेरै बोल्न मिलेन । ती युवाले सबै आफन्तलाई नै ठगी गरेको जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेहरू चेतनाको अभावले ठगिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आफन्त र छरछिमेकको भरपर्दा ठगिने गरेको देखिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए । वैदेशिक रोजगारीमा जानेहरूले मेनपावरको आधिकारिक व्यक्ति र बंैक मार्फत प्रक्रिया अगाडि बढाउँदा ठगिने सम्भावना कम हुन्छ भने कारवाही गर्ने आधार पनि हुने उनी बताउँछन् ।

आप्रवासी स्रोत केन्द्रले मोरङका १७ वटै पालिकाका रोजगार संयोजकहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । स्थानीय तहबाट नै वैदेशिक रोजगारीमा जानेहरूलाई जानकारी गराउने उद्देश्यले छलफल गर्ने गरेको छ । गत आर्थिक वर्षमा १९२ जनाले उजुरी दिएकोमा ८४ वटा उजुरी गत वर्ष नै फस्र्यौट भइसकेको थियो । गतवर्ष ३ करोड ३२ लाख ३८ हजार रुपैयाँ पीडितलाई फर्काइएको आप्रवासन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्