भद्रपुर, फागुन २८ । बचतकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेको भद्रपुर १० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्था लि.विरुद्ध कानुनी कार्वाही शुरु गरिएको छ ।

सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार त्यस सहकारीका संचालकविरुद्ध कानुनी कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहकारीविरुद्ध परेको उजुरीका विषयमा कानुनी कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । उनले त्यसबारे आज सहकारीका संचालकहरुलाई बोलाइएको जानकारी दिए । सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधिहरुको रोहवरमा छलफल गराउने र त्यसबाट निकास ननिस्किए कानुनी कार्वाही अगाडि बढाइने प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए ।

२०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । यसअघि बचत फिर्ता नगर्ने बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्