द्रोण अधिकारी,
भद्रपुर । भद्रपुरका क्रान्तिकारी कविको छवि बनाएका विरही अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए ।
सहिदको सम्झना गर्दै कविता वाचन सुरू गरेका अधिकारीले सहिदको योगदान बिर्सदै गएकोमा आक्रोश पोखे । उनले ‘भो तीजमा लिन नआऊ’ कवितामार्फत नेपाली नारीमाथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सबैसित आग्रह गरेका थिए । कवि अधिकारीले तेस्रो कविता ‘आमा कति रोयौं’ मार्फत नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभिमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचार बढिरहेकाले नेपाली आमा रोइरहेको दुखेसो पोखे ।

अधिकारीले ‘कति लेख्छौ यो पुरस्कारको’ कविता शीर्षकमा आज कवि कलाकार चोर, तस्कर र घुसखोरीको नियन्त्रमा रहेकाले यस्तो समाजमारा प्रवृत्ति अन्त्य गर्ने कविता लेखिनु पर्ने आवाज उठाएका छन् । उनले युवाहरूलाई सन्देश शीर्षकमा आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेशिने प्रवृत्ति त्याग्न नेपाली युवा युवतीसित आग्रह गरेका छन् । अधिकारीले ‘हजुर बाको सन्देश र नातिको प्रश्न’ कवितामा संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा सत्तासीन दलप्रति कटाक्ष गर्दै व्यङ्ग्य प्रहार गरेका छन् । उनको जन्मथलो धनकुटा शीर्षकको गीतसम्म आइपुग्दा नौ वटा कविताले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेको छ ।
स्मारक समितिका अध्यक्ष राजु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि अधिकारीको परिचय सह–प्राध्यापक तारा विविध तथा कविताको टिप्पणी सह–प्राध्यापक चुडामणि वशिष्ठले गरेका थिए । उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा वीरेन्द्र मावि, पुँहातु जनज्योति मावि र जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेलले शुभकामना मन्तव्य राखेका थिए । सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा भाषासेवी चुडामणि रेग्मीलगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।