झापा,फागुन २९ । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड रुपियाँ लागतमा निर्माण भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा नआएपछि त्यहाँ साप्ताहिक हाट लाग्न थालेको छ ।

सङ्घीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।

निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको उपयोगिता अनुसार सञ्चालन गर्न नसक्दा कटहरी गाउँपालिकाले बुधबार र शनिबार हाट लगाउन थालेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० साल जेठ ३ गते प्रदेश सरकारका तत्कालीन उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना, महाशाखा प्रमुख पशुपति पोख्रेल र रामकृष्णसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालिएको जानकारी दिए

निर्माण सम्पन्न संरचनाको २०७५ साल चैत ३ गते उद्घाटन गर्दै सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी गाउँपालिका–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए तर नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी सङ्घलाई बजार सञ्चालन गर्न दिएको थियो ।

कोशी प्रदेशका ३६ सहकारी संस्थाले एक करोड २३ लाख रुपियाँ सेयर लगानी गरेर स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ वटा थोक तरकारी तथा फलफूल पसल र ३२ वटा खुद्रा पसलका स्टलका संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेसिन, लोड अनलोड क्षेत्र, डिप ट्युबेल, सिसिटिभी, जेनेरेटर र सोलारसमेतको सुविधा छ ।

यसै गरी गोदाम घर, बैङ्क, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र आठ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर बिक्री गर्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्