झापा,फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ।

सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। गत वर्ष पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुष २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिखेर उनलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो। त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा भने उनले १७२ मत प्राप्त गरेका थिए। तेस्रो पटक लिँदा भने यो संख्या थप घट्नेछ।

यद्यपि विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ। त्यो संख्या सत्ता घटक ५ दलमा पर्याप्त छ। एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जनता समाजवादी पार्टीका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ।

हालसम्म प्रधानमन्त्रीलाई १५६ सांसदको समर्थन जुट्ने देखिएको छ। संसद्मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ। जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार दाहालले विश्वासको मत लिन लागेका हुन्। गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिने संवैधानिक समयसीमाभन्दा तीन साताअघि नै सदनमा मत लिन लागेका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्