झापा,फागुन ३० । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन्। होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको हो।

विराटनगर–८ का वडाध्यक्ष राम पोख्रेलका अनुसार आफू काठमाडौं जानुपर्ने जनाउँदै रेग्मी अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन्।
‘नयाँ होस्टल पनि खोल्नुभएको रहेछ, अनि भोलि नै काठमाडौं जानुपर्ने बताउँदै उहाँले रेन्ट माग्नुभएको रहेछ,’ पोख्रेलले भने, ‘त्यसक्रममै विवाद भएको रहेछ।’
पोखरेलका अनुसार रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिएर सहयोग गर्न भनेकी थिइन्। तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको भनेपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा रेग्मीले छात्राहरूका किताब–कापी फ्याँकेकी थिइन्।
सो होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए। उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन्। केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण पैसा दिइसकिएको बताएका छन्।
भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ३–३ हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राती होस्टेल छोड्न धम्की दिएकी छात्राहरूको आरोप छ।
होस्टल सञ्चालकले डर देखाउँदै गाली–गलौच तथा हातपात गरेकी जनाउँदै ती छात्राहरूले सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरेका छन्। यता, मोरङ प्रहरीले भने हालसम्म उक्त घटनालाई लिएर जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको जनाएको छ। मोरङ प्रहरीका इन्स्पेक्टर दुर्गा राईले आफूहरूले घटनाबारे जानकारी लिएको भए पनि अहिलेसम्म पीडित पक्षले उजुरी नदिएकोले कारबाही प्रक्रिया थालनी नगरेको सुनाए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्