झापा, फागुन ३० । बिर्तामोड नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर मोरङको मिक्लाजुङमा सम्पन्न गरेको छ ।


मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा मिक्लाजङ गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच हुनुपर्ने कुरालाई विशेष प्राथमिकतामा राख्दै स्वास्थ्यसम्बन्धी कार्य गर्दै आएको र सोही अनुसार नै शिविर संचालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, ई.सि.जि. सेवा, ल्याब (प्रयोगशाला) को सुविधा विशेषज्ञ डाक्टरहरुबाट प्रदान गरिएको साथै औषधी समेत निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
शिविरमा २८१ महिला र १६४ पुरुष गरी जम्मा ४४५ जना स्थानीयले प्रत्यक्ष रुपमा सुविधा लिएको र शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ अफिसर नविन दाहालले जानकारी गराए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा संचालित शिविरमा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले प्रमुख अतिथिको आतिथ्यता गर्दै स्थानीय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै समुदायप्रेरित कार्यहरुका लागि स्थानीय सरकार सदैव साथमा रहेको प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्