झापा,फागुन ३० । आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागू हुनेछ । जसका कारण व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो ।

हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीच ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्त मात्रामा तरलता रहेको छ । यसैगरी, वित्त क्षेत्रमा अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकले फागुन महिनामा निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५ प्रतिशत तोकेको थियो ।

चैतमा निक्षेपको ब्याजदर यो बिन्दुबाट अझ तल झर्ने सम्भावना रहेको बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले अहिले बैंकको पुँजी लागत लगभग ७ प्रतिशतको हाराहारीमा रहेको र बैंकले थप निक्षेपको ब्याजदर थप बढाउन नसक्ने अवस्था रहेको बताए ।

बैंकर्स संघका अनुसार राष्ट्र बैंकले ब्याजदर घट्ने क्रमलाई स्थिर बनाउन संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम गर्नुपर्ने नीति लिएको थियो । तर, अहिलेको परिस्थितिले ब्याजदर अझ घटाउनुपर्ने अवस्था सिर्जना गरेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्