मेचीनगर, फागुन ३० । झापाको मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन बुधवारबाट शुरु भएको छ ।

नगरपालिकाको सभाहलमा मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनका अध्यक्षता नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि आएपछिको यो दोस्रो नगरसभाको चौथो अधिवेशन हो । नगरसभाको उद्घाटन अवसरमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अधिवेशनमा विनियोजन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८० तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिन् ।

सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सशर्तको विभिन्न उपशीर्षकमा संघीय सरकारबाट हस्तान्तरित अनुदान समपुरक अनुदानस्वरुप प्राप्त भएको बजेट र वडागतरुपमा विनियोजन गरिएको बजेट उनले प्रस्तुत गरेकी थिइन् ।
२०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँको आय—व्ययसहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको थियो ।

हालसम्मको वित्तीय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ , पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।
यसैगरी, हालसम्मको वित्तीय व्यवस्थासहितको खर्चमा चालु खर्चतर्फ ३५ करोड ८५ लाख ६० हजार १ सय ६५ रुपैयाँ तथा पूँजीगत खर्चतर्फ १० करोड २४ लाख ७८ हजार ९ सय ११ रुपैयाँको आर्थिक प्रतिवेदन उपप्रमुख उप्रेतीले नगरसभामा प्रस्तुत गरेकी थिइन् । यसरी हेर्दा कुल वित्तीय प्रगति ३३ दशमलव ९२ प्रतिशत देखिन्छ ।
विनियोजनतर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ घटाउँदा मौज्दात (बाँकी) रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ रहेको छ ।आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक आय अनुमानित आयतर्फ ः १२ करोड ८७ लाख रुपैयाँ र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख २८ हजार ४ सय ८२ रुपैयाँ अर्थात ६५ दशमलव २१ प्रतिशत रहेको छ ।

कार्यालयको क्षेत्र÷ उपक्षेत्रअन्तर्गत आर्थिक विकास शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँमध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ अर्थात १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ मौज्दात रहेको छ ।

सबैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५० दशमलव शुन्य ५ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा २७ करोड १३ लाख ४ हजार ५२ रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख ९२ हजार २ सय ६४ रुपैयाँ खर्च भएको छ ।

यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ अर्थात ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी दिइन् । चालु आर्थिक २०८०÷०८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

ऊर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञानतर्फ प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार ५ सय ९२ रुपैयाँ अर्थात २१ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ भने ५५ लाख १८ हजार ४ सय ८ रुपैयाँ नगद मौज्दात रहेको छ । सामाजिक विकासतर्फ चालु आर्थिक वर्षको आठ महिने अवधिमा २१ करोड ९९ लाख १३ हजार ७ सय ९३ रुपैयाँ खर्च भएको छ । कुल बजेट ५५ करोड २१ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख २० हजार २ सय ६ रुपैयाँ मौज्दात (बाँकी) रहेको छ ।

साथै चालु आर्थिक वर्ष २०८०÷०८१ का प्रमुख नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि निरन्तरता दिइने काम भईरहेको पनि नगरसभामा उपप्रमुख उप्रेतीले जानकारी गराइन् । ‘नगरपालिकाको यसअघिको दोस्रो नगरसभाले नीतिगत निर्णयहरु गरी हामीलाई महत्वपूर्ण जिम्मेवारीहरु सुम्पेकोमा यस बीचमा नगरपालिका उल्लेख्य प्रगति हासिल गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ’उनले भनिन् ।

विधेयकतर्फ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको नगरपालिकाको काम, कर्तव्य र अधिकारको प्रयोगका लागि आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि र मापदण्डमध्ये केही तयार गरिसकिएको स्पष्ट पारिन् । यही चालु आ.व.मा संशोधन गर्नुपर्ने, थप गर्नुपर्ने र पुनः मूल्यांकन गर्न नगरसभाका सवै सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराएका थिए । आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधवारको सभा स्थगित गरिएको नगर प्रमुख तथा सभाका अध्यक्ष बुढाथोकीले जानकारी गराए । सभामा वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्