झापा,चैत ४ । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्‍याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ ।

गए राति शनिबार मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु. एक करोडभन्दा बढीको क्षति भयो । शनिबार पनि मोरङकै रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भए । २५ परिवार विस्थापित नै भएका छन् ।

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जङ्गलमा आगो फैलिएर सोही ठाउँ बस्ने छ जनाको घर तथा घरमा रहेको विभिन्न सामान जलेर नष्ट भएको छ ।

प्राप्त विवरणनुसार शनिबारमात्रै ती जिल्लासहित काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन् । यसपालि हिउँदमा पानी कम परेकाले पनि सुक्खा बढी हुँदा प्रिमनसुनको सुरुआतमै डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।
यस क्षेत्रका विज्ञहरूले पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसके डढेलो र आगलागीले थप क्षति निम्त्याउने चेतावनी नै दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ । प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको बताउछन् । उनका अनुसार पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्ष बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्