झापा,चैत ४ । फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार अपरान्हदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका १६ घर जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको छ । आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए ।


आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँ जलेका हुन् । बस्तीमा अहिले पनि आगो लागिरहेको छ । गाउँमा बस्ती पातलो भएको र बस्ती वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र शसस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरिक्षक राजन चापागाँइले बताए । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको छ । पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीले के कति जनधनको क्षति भयो ? भन्ने यकिन भएको छैन । जलेकामध्ये अधिकांश घरहरुमा मान्छे बस्ने गरेका थिए ।

गाउँमा सडक साँघुरो भएकाले बारुण यन्त्र समेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्