लक्ष्मी उप्रेती,
झापा । झापा जिल्लाका विभिन्न स्थानमा एकसाताको अवधिमा १५ ठाउँमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट १५ करोडभन्दा बढीको क्षति भएको छ । गत फागुन २६ गते आइतबारदेखि चैत ३ गते शनिबारसम्ममा जिल्लामा भएका आगलागीमा परी पाँच वटा चौपाया मरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका १५ वटा पालिकाका विभिन्न ठाउँमा भएका आगलागीबाट धनमाल, भौतिक संरचना, चौपाया, लत्ताकपडा गरगहना, भाडावर्तनलगायतका सामग्री डढेर १५ करोड ६१ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

एकसाताको अवधिमा अर्जुनधारा, भद्रपुर, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज, हल्दिवारी गाउँपालिकामा दुई–दुईवटा, मेचीनगर नगरपालिकामा तीनवटा तथा कन्काई नगरपालिका र झापा गाउँपालिकामा एक–एकवटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । धेरैजसो घटना विद्युत सर्टका कारण भएको पाइएको छ ।

फागुन २८ गते बिहान ५ बजेदेखि मेचीनगर–१५ज्यामिरगढीमा रहेको देशकै ठुलो भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि आठवटा दमकल प्रयोग गरिएको थियो । उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको बताईएको छ ।

मेचीनगर क्षेत्रमा मात्र कारखाना , गोठ र अन्य गरी तीन वटा संरचनामा आगलागी हुँदा १५ करोड ३२ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी आठवटा परालको कुन्यूमा आगलागी भएको छ । यसैगरी दुईवटा घर, एउटा भान्सा , दुईवटा गोठ, एउटा फ्याक्ट्री, दुईवटा वन तथा अन्य एकमा आगलागी भएको छ ।

अर्जुनधारा नगरपालिकामा दुईवटा परालको कुन्यूमा आगलागी हुँदा ४० हजार, कन्काई नगरपालिकामा एउटा घरमा आगलागी हुँदा १० लाख,भद्रपुर नगरपालिकामा एउटा परालको कुन्यू र एउटा वनमा आगलागी हुँदा ७० हजार ,शिवसताक्षी नगरपालिकामा दुईवटा परालको कुन्यूमा आगलागी हुँदा ११ हजार ५ सय, हल्दिवारी गाउँपालिकामा एउटा परालको कुन्यू र एउटा वनमा आगलागी हुँदा ५ हजार, गौरीगञ्ज गाउँपालिकामा दुईवटा परालको कुन्यूमा आगलागी हुँदा ५४ हजार र झापा गाउँपालिकामा एउटै व्यक्तिको घर,भान्सा र गोठमा आगलागी हुँदा १८ लाख १५ हजार रुपैयाँको क्षति भएको बताईएको छ ।

जिल्लाका अधिकांश घरमा आगलागी हुँदा लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्णरुपमा जलेको प्रहरीको भनाई छ । विद्युत सर्ट, बालबालिकाले परालको कुन्यूनजिकै खेल्दा, परालको भुस बाल्दा,जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने गरेका कारण अधिकांश स्थानमा आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्