झापा,चैत ५ । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् ।

तीनजना सवार मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री गौरीगञ्ज –३ बस्ने अन्दाजी ४० वर्षीय अकालु माझीको मृत्यु भएको हो । राति सवा ९ बजेको समयमा गौरीगञ्ज १ स्थित हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४प ४२२४ नं को मोटरसाइकलले बिपरित दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो ।ठक्करबाट साईकलयात्री माझीको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते भएकोमा उपचारका लागि बीएण्डसी अस्पताल ल्याउँदा ल्याउँदै उनको बाटैमा मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज १ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो , अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गंभीर घाइते भएका छन् । घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड , रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार रहेकोमा तीमध्ये चालक को हुन् भनेर नखुलेको, मोटरसाइकल र साईकल प्रहरी चौकी कुञ्जिवारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्