झापा,चैत ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान हुन्छ कि हुन्न भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट जबाफ मागेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री गगन थापाले सहकारी प्रकरणलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन्।

‘सहकारी काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्,’ थापाले भने, ‘यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं? यो सदनलाई प्रश्न हो। यो कुनै एउटा पक्षको कुरा होइन, सिंगो सदनको विवेकमाथिको प्रश्न पनि हो।’

उनले सहकारी प्रकरणबारे प्रधानमन्त्रीबाट जबाफ आउनुपर्ने बताए।

‘हामीले यो विषय गम्भीरतापूर्वक उठाएका छौं, यसको जबाफ प्रधानमन्त्रीजीबाट चाहन्छौं। सभामुखलाई पनि मेरो अनुरोध छ– यो प्रश्नलाई यत्तिकै मर्न नदिऔं। सहकारी प्रकरणको अनुसन्धान निष्पक्ष ढंगबाट हुन्छ भन्ने विश्वास हामीलाई चाहिएको छ। अनुसन्धान निष्पक्ष हुन्छ भन्ने प्रधानमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनु हुन्छ हामी सुन्न चाहन्छौं,’ उनले भने, ‘हामी सरकार र सदनलाई अप्ठेरो पार्न चाहन्नौं। के यी कांग्रेसका निजी प्रश्न हुन्? सडकमा बसेका हजारौं सहकारी पीडितको पैसा फिर्ताको ग्यारेन्टी होस्।’

नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, टेरामेक्स, एनसेल, सुनकाण्डमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने थापाले बताए।

‘दाहिने बस्ने होस् कि देब्रे बस्ने होस् कसैले उन्मुक्ति नपाओस्। नेता होस् कि नाता पर्ने होस् कसैले उन्मुक्ति नपाओस्,’ उनले भने, ‘रूखको छहारीमुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घन्टी बजाउने होस्, कसैले पनि उन्मुक्ति नपाओस् भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं?,’ सत्ता पक्षका सांसदहरूप्रति लक्षित गर्दै थापाले प्रश्न गरे, ‘सहकारी काण्डमा पनि शक्तिशाली, लोकप्रिय, नयाँ भए पनि गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्।’

उनले विगतमा आफू सत्ता पक्षमा हुँदा पनि यस्ता विषयलाई गम्भीरतापूर्वक उठाएको स्मरण गरेका थिए।

‘सहकारीमा जसले ठगी गरेको छ, निष्पक्ष ढंगले अनुसन्धान होस् भन्ने हाम्रो माग हो,’ थापाले भने, ‘एउटा पनि प्रमाण नष्ट नहोस्। अहिले प्रहरीसँग प्रमाण छ। पीडितहरूले जम्मा गरेर दिएका छन्,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले भने, ‘जो मुछिएको छ ऊ आफैँले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने? त्यसैले प्रधानमन्त्रीबाट जबाफ चाहिएको छ। प्रधानमन्त्री बनाइदिने टाइपको ओठे जबाफ खोजेको होइन। जिम्मेवारीबोधका साथ जबाफ चाहियो। मेरा मित्र गृहमन्त्रीजीलाई पनि आग्रह छ– यसलाई टुंग्याउन दिऊँ। विख नखाएको भए लाग्नु हुँदैन, विख खाएको छ भने लाग्छ।’

महामन्त्री थापाले एक सय जनाले नक्कली खाता खोलेर पोखराको सूर्यदर्शन सहकारीबाट पैसा लिएको पनि बताए।

‘१०० जना मानिसहरूले नक्कली खाता खोलेर करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्। यसरी नक्कली खाता खोल्ने मानिसमध्ये एउटाको नाम हो– रवि लामिछाने। माननीय गृहमन्त्री लामिछाने भोलि प्रधानमन्त्री बन्नुहोला। शुभकामना छ। बन्न पनि सक्नुहुन्छ। अलग विषय हो। रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ, सहकारीको सदस्य हुनु हुन्न। यो गैरकानूनी छ,’ थापाले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्