झापा,चैत ५ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले यस वर्षदेखि राष्ट्रिय स्तरको सम्मान बितरण गर्ने भएको छ ।

बिर्तामोडस्थित ग्रिन्ड फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा सोमवार भएको पत्रकार सम्मेलनमा पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८० राष्ट्रिय प्रतिभा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी)लाई संयुक्त रुपमा प्रदान गरिने जानकारी दिइयो ।प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छा अनुसार पूर्ण टुङ्ग अक्षयकोषमार्फत एक लाख ११२ हजार १ सय ११ रुपैयाँ नगदसहित पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान गरिने जानकारी दिए ।

आफ्नी आमा पूर्णकुमारीसमेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठानमार्फत यही चैत ७ गते सो सम्मान बितरण गरिने छ । भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा महजोडीलाई सो सम्मान प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारतको दार्जिलिङ जिल्ला कालेङ्पोङका स्थायी बासिन्दा श्रेष्ठ नाट्य कलाकार , नाटककार, कवि , गीतकार, राजनेता, राजनीतिक चिन्तक र कुशल संठगक हुन् । पत्रकारिता र साहित्यका क्षेत्रका समेत स्थापित श्रेष्ठ भारत र नेपालका अनेक सम्मानबाट सम्मानित भएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा पूर्ण टुङ्ग अक्षयकोषका संस्थापक सदस्य जितेन्द्र बस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकालमै लोक कल्याणका निमित्त कोष स्थापना गरिदिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्