झापा, चैत ५ । महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् ।

एक उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै परेको उजुरीउपर छानविन गर्दा दोषी देखिएपछि आचार्यलाई बर्खास्त गर्ने निर्णय भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए । ‘उहाँलाई बैंकिङ सेवामा अयोग्य नठहरिने गरी नेपाल राष्ट्र बैंकको सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम आचार्यलाई बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गत पुष अन्तिम साता नगरकोटमा आयोजित कर्मचारीहरुको तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रममा निर्देशक आचार्यले उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।

कारवाहीको माग गर्दै ती महिला कर्मचारीले उजुरी हालेकी थिइन् । उजुरीउपर छानबिन गर्दा दोषी ठहर भएपछि कारवाहीस्वरुप बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्