झापा, चैत ५ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ यात्रुको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।


सोमबार साँझ ५ बजेर २० मिनेटमा यात्रुबाहक बस सडकदेखि १ सय ५० मिटर तल खस्दा ७ यात्रुको मृत्यु भएको र २४ जना घाइते भएको जिल्ला प्रहरीका निरीक्षक दिपकबाबु केसीले जानकारी दिए । मृतकको नाम भने खुलेको छैन । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकको नेतृत्वमा गएको टोलीले सुरुवातमा खोजी तथा उद्धार गरेको थियो । टोलीले ७ जना घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो । उनीहरु पनि बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

रुकुम पश्चिमबाट काठमाडौं जान हिँडेको बाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस खसेको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय झिवाखोलाको टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी आइनसकेको केसीले बताए ।अँध्यारो भएकोले उद्धारमा कठिनाइ भएको केसीले बताए । घटनामा थप सुरक्षा र जनशक्ति आवश्यक भएपछि विपत् व्यवस्थापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट समेत थप उद्धार टोली घटनास्थलतर्फ लागेको छ ।

घटनास्थल सदरमुकामदेखि १ सय ३० किमी पश्चिम पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्