लक्ष्मी उप्रेती

मेचीनगर । बितेको फागुन महिनामा श्रम स्विकृति लिएर झापाबाट वैदेशिक रोजगारमा जानेको संख्या ३ हजार १ सय ७९ पुगेको छ ।

वैदेशिक रोजगार विभागको अभिलेख अनुसार झापाबाट २ हजार ५ सय ६० पुरुष र ६ सय १९ गरी कुल ३ हजार १ सय ७९ जना रोजगारका लागि विदेशिएका हुन् ।

यो अवधिमा १ हजार ४ सय ३ पुरुष तथा ४ सय १९ महिला गरी कुल १ हजार ८ सय २२ जनाले नयाँ श्रम स्विकृति लिएका छन् । यो अवधिमा म्यानपावरमार्फत झापाबाट १ हजार १ सय ४१ पुरुष र २ सय ९४ महिला गरी कुल १ हजार ४ सय ३५ जना विदेश गएको विभागले जनाएको छ । यसैगरी ‘जी टु जी’ मार्फत २९ पुरुष र ५ महिला गरी कुल ३४ जना रोजगारीका लागि श्रम स्विकृति लिएर विदेश गएका छन् । नयाँ श्रम स्विकृति लिएर व्यक्तिगत रुपमा ३ सय ५३ जना विदेशिएको विभागको अभिलेखले देखाएको छ । एक महिनामा २ सय ३३ जना पुरुष र १ सय २० जना महिला नयाँ श्रम स्विकृति लिएर विदेशिएका हुन् ।

वैदेशिक रोजगारीबाट विदामा आएर पुनः श्रम स्विकृति गरी झापाबाट फागुन महिनामा विदेशिनेको संख्या १ हजार ३ सय ५७ रहेको छ । नयाँ र पुनः श्रम स्विकृतिको जिल्लागत तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी धनुषा जिल्ला देखिन्छ भने दोस्रोमा झापा रहेको छ । नयाँ श्रम स्विकृतिको संख्यामा भने झापा जिल्ला पहिलो स्थानमा छ । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने नयाँ श्रम स्विकृति लिनेको संख्या झापाबाट द्रुत गतिमा बढिरहेको देखिन्छ ।

एक महिनामा सवैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ५ सय ५४ जनाले श्रम स्विकृति लिएर विदेश गएका छन् । फागुन महिनामा ३ हजार ५ सय ३३ पुरुष र २१ महिला विदेश गएका हुन् । म्यानपावरबाट १ हजार ६ सय २१ पुरुष र ११ महिलागरी कुल १ हजार ६ सय ३२ जना रोजगारका लागि विदेशिएका छन् । यसैगरी ‘जी टु जी’ मार्फत जानेको संख्या शुन्य रहेको विभागले जनाएको छ । फागुनमा धनुषाबाट नयाँ श्रम स्विकृति लिएर व्यक्तिगतरुपमा १ सय २१ पुरुष र ८ महिलागरी कुल १ सय २१ जना छन् । श्रम स्विकृति लिएर विदेश जाने महिलाहरुको संख्याको आधारमा अन्य जिल्लाको तुलनामा झापाबाट बढी छ ।

फागुनमा देशभरिबाट कुल ६५ हजार ६ सय ५८ जनाले श्रम स्विकृति लिएका छन् । त्यसमा ५८ हजार ८ सय ९० र ६ हजार ७ सय ६८ महिला छन् ।

यसैगरी,‘जी टु जी’ मार्फत ४ सय ८० पुरुष र ९५ महिला गरी कुल ५ सय ७५ छन् । यसैगरी, श्रम स्विकृति लिएर व्यक्तिगतरुपमा ५ हजार ९ सय २१ पुरुष र १ हजार ५ सय २६ महिला गरी कुल ७ हजार ४ सय ४७ जनाले श्रम स्विकृति लिएको विभागले जनाएको छ । २८ हजार ६ सय ६५ पुरुष र ३ हजार २ सय २३ महिलागरी कुल ३१ हजार ८ सय ९८ जना म्यानपावरबाट विदेशिएका छन् । फागुनको एक महिनामा ३५ हजार ६६ पुरुष र ४ हजार ८ सय ५४ महिला गरी कुल ३९ हजार ९ सय २० जनाले नयाँ श्रम स्विकृति लिएका छन् । झापाको मेचीनगर नगरपालिकाको रोजगार सेवाकेन्द्रबाट असोज १० गतेदेखि चैत ५ गतेसम्म २ सय २ जनाले श्रम स्विकृति लिएको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्