झापा, चैत ६ । बागलुङमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ९ पुगेको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका–१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

यस्तै मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो। सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका बबिददेल नेपाली र चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विकको पनि ज्यान गएको छ।

सातजनाको घटनास्थलमै मृत्यु भएको र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केसीले बताए। दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन्। घटनास्थलमै ज्यान गुमाएका सातजनाको शव गएराति नै रुकुम पठाएको उनले जानकारी दिए। दुईजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

घाइतेमध्ये एक जनाको उपचार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। २७ जनालाई बागलुङस्थित धवलागिरी अस्पतालमा लगिएको छ। पूर्वी रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। बस सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्