झापा, चैत ६ । कथाकार परशु प्रधानको निधन भएको छ ।

८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।

सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् । प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् । त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२९ संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो । परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । निधन भएका प्रधानको आज बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्