बिर्तामोड, चैत ६ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको नवनिर्वाचित समितिले आजदेखि कार्यभार सम्हालेको छ ।

निवर्तमान समितिले पद हस्तान्तरण गरेपछि नयाँ समितिले कार्यभार सम्हालेको हो । आज आयोजित एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको हो । समितिको गत शनिबार सम्पन्न निर्वाचनबाट निरजकुमार ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कमलप्रसाद पौडेलले नवनिर्वाचित अध्यक्ष ओलीलाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले आफ्नो कार्यकालमा गरेका कामका विवरण प्रस्तुत गर्नुका साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने समितिका सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरुलाई धन्यवाद दिए । उनले आफ्नो तीन वर्षे कार्यकालमा २० वटा मुख्य काम गरेको विवरण प्रस्तुत गरेका थिए । निवर्तमान समितिले सबै खर्च कटाएर नयाँ समितिलाई २७ लाख २५ हजार ९३५ रुपैयाँ जिम्मा दिएको पौडेलले जानकारी दिए । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कृषि थोक बजारका संस्थापक अध्यक्ष हर्कलाल गिरी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, सल्लाहकार लोकबन्धु कन्दङ्वालगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।नगर उपप्रमुख संग्रौलाले बजार अव्यवस्थित रहेकाले गुरुयोजनामार्फत बजारलाई आधुनिक र व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका थिए ।

निवर्तमान अध्यक्ष पौडेलको अध्यक्षता तथा नगर उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत निवर्तमान समिति सदस्य विन्दा लुइटेल र संचालन व्यवस्थापक सिताराम नेपालले गरेका थिए । सो बजार समाजसेवी रामबाबु प्रसाईले दिएको ४ विगाह ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

गत शनिवार भएको निर्वाचनमा खगेन्द्र महतोलाई एक मतले पराजित गरी ओली अध्यक्षमा निर्वाचित भएका थिए । ओलीले ३ मत ल्याउँदा महतोले २ मत पाएका थिए । नेकपा एमालेका आधिकारिक उम्मेदवार महतोलाई विद्रोही उम्मेदवार ओलीले कांग्रेसको समर्थनमा हराएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्