झापा,चैत ७ । नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ स्थानमा जुस पनि परेको छ; जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्