बिर्तामोड,चैत ७ । लामो समयपछि बिर्तामोड–१० सैनिकबजारस्थित भूतपूर्व सैनिक स्मृति प्रतिष्ठानमा निर्मित सैनिक स्तम्भको घुम्टो उघ्रिने भएको छ।

बाँकी काम सकिएपछि सिसाको घेराभित्र रहेको यो स्तम्भ अनावरण गर्न प्रतिष्ठानका पदाधिकारीहरु लागिपरेका हुन्। आगामी बैशाख २ गते स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्तम्भ अनावरण भएपछि बिर्तामोड–१० सैनिक बजारको इतिहासमा एउटा कोशेढुङ्गा थपिने भएको छ ।

२०७३ सालदेखि स्तम्भ निर्माणको कुरा चलेको थियो । प्रतिष्ठानको बिधिवत दर्ता गरी २०७८ मंसिर २५ गतेदेखि आर्थिक संकलन गरि स्तम्भको निर्माण कार्यलाई अघि बढाईएको थियो । स्तम्भ निर्माणका लागि स्थानीय सुनिल मुखियाले आफ्नी स्वर्गीय आमा सुनिता मुखियाको स्मृतिमा पाँच धुर जमिन सैनिक क्याम्पलाई निःशुल्क उपलब्ध गराएका थिए । पछि उनैबाट थप एक धुर जग्गा खरिद गरी ६ धुर क्षेत्रफलमा स्तम्भ निर्माण गरिएको प्रतिष्ठानका सचिव चामबहादुर लिम्बू र अवधारणाकार तथा प्रतिष्ठानका सदस्य रिमानध्वज लोक्तामले जानकारी दिए। स्तम्भका लागि १९ लाख २० हजार ६३० रुपैयाँ खर्च भएको जनाइएको छ । स्तम्भले आजभन्दा करिब ६० बर्ष पहिले कसरी यस क्षेत्रको नाम भूपू सैनिक हुँदै सैनिकबजार रहन गयो भन्ने इतिहासलाई प्रष्ट पार्ने प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ ।

२०१९ सालमा तत्कालीन राजा स्व. महेन्द्रको इलाम भ्रमणदेखि सैनिकबजारको इतिहास शुरू हुन्छ। राजा महेन्द्रले २ सयजना भूपू सैनिकहरुलाई १ हजार बिगाह जंगल फडानी गरि बस्ती बसाएपछि यस क्षेत्रको नाम सैनिक रहन गएको उल्लेख छ। दाताहरुको नामावली लेखन र प्रतिष्ठानका संस्थापक सचिव रूपनारायण मुखियाको २०७९ साल भदौ ४ गते भएको निधनले अनावरण कार्यक्रम केही ढिलो भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्